जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरुलाई दनपाले गर्यो नगदसहित सम्मान
बैतडी फागुन ५ : बैतडीको दशरथचन्द नगरपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाको तर्फबाट प्रतियोगितामा सहभागी खेलाडीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरेर नगदसहित सम्मान गरिएको दनपा नगर युवा परिशद उपाध्यक्ष मनोज बोहराले बताए ।
प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही नगद ६ हजार ६ सय ६७ रुपैयाँ, रजत पदक विजेता खेलाडीहरुलाई जनही नगद ३ हजार ३ सय ३३ रुपैयाँ र कास्य पदक विजेता खेलाडीहरुलाई जनही २ हजार ६ सय ५७ रुपैयाँ पुरस्कार प्रदान गरिएको उपाध्यक्ष बोहराले बताए ।
यस्तै प्रतियोगितामा सहभागी भएका अन्य खेलाडीहरुलाई पनि १ हजार ३ सय ३३ का दरले पुरस्कार उपलब्ध गराइएको छ । मेलौलीमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशरथचन्द नगरपालिकाबाट विभिन्न विधामा ७० जना खेलाडी सहभागी भएका थिए । यस्तै अनुशासन र विभिन्न बिधामा हासिल गरेका ट्रफी पनि नगरपालिका लाई नगर खेलकुद समिती ले हस्तान्तरण गरेको छ ।
प्रतियोगितामा नगरपालिकाले २ स्वर्ण, १३ रजत र १२ कास्य गरेर २७ पदक हात पारेको थियो । खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्दै नगर प्रमुख पुष्करराज जोशीले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए ।
खेलाडीहरुलाई नगद पुरस्कार प्रदान तथा सम्मान कार्यक्रममा नगर प्रमुख जोशीका साथै प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशी, वडा अध्यक्ष, नगर खेलकुद विकास समितिका अध्यक्ष र खेलाडीहरुको सहभागिता रहेको थियो ।
अनुशासन र विभिन्न बिधामा हासिल गरेका ट्रफी पनि नगरपालिका लाई नगर खेलकुद समिती ले हस्तान्तरण गरेको छ ।