बैतडीको देहीमाण्डौंमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट ६ सय ९१ जनाले लिए सेवा

बैतडी फागुन ४ : बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंमा सञ्चालन भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६ सय ९१ जनाले सेवा लिएका छन् ।

दशरथचन्द नगरपालिकाको आयोजना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको प्राविधिक सहयोग र दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंको व्यवस्थापनमा शिविरको आयोजना गरिएको हो । बिहीबार र शुक्रबार आयोजना भएको शिविरमा दशरथचन्द नगरपालिका र आसपासका नागरिकले सेवा लिएका दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

शिविरमा आएका मध्ये ३५ जना क्यान्सरका शंकास्पद बिरामी फेला परेका छन् । ती मध्ये ८ जनालाई थप उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पातलमा बोलाएको जोशीले बताए । स्थानीय नागरिकहरुलाई क्यान्सर जस्ता जटील रोगहरुको समयमै पहिचान गर्न सहज होस भनेर शिविरको आयोजना गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।पछिल्लो समयमा क्यान्सर जस्ता नसर्ने रोगहरुको जोखिम बढ्दै गएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । ६ सय ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ जना क्यान्सरका शंकास्पद बिरामी देखिनु निकै ठूलो चुनौतीको बिषय रहेको उनले बताए ।

अहिले सर्ने रोगभन्दा पनि नसर्ने रोगहरु जनस्वास्थ्यको विकराल समस्या बन्दै गएका छन् । खानपान, जीवनशैली, धुम्रपान तथा मद्यपान, शारीरिक व्यायामको कमी लगायतले नसर्ने रोगहरुको जोखिम बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.