शुक्रबारदेखि विद्यालय सञ्चालन गर्न दोगडाकेदार गाउँपालिकाको आग्रह

बैतडी असोज ४ ः बैतडीको दोगडाकेदार गाउँपालिकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । सरकारले सदनमा दर्ता गराएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु देशभरीका विद्यालय बन्द गरी आन्दोलनमा उत्रेपछि गाउँपालिकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षकहरुको आन्दोलनका कारण बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकार कुण्ठित भएको भन्दै गाउँपालिकाले बिहीबार एक विज्ञप्ती जारी गरेर गाउँपालिकाभरीका विद्यालयहरु शुक्रबारदेखि सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षकहरुले उठान गरेका जायज मागहरुप्रति गाउँपालिकाको समर्थन रहेको भएपनि विद्यालय नै बन्द गरी गरिने आन्दोलनले बालबालिकाहरुको नियमित पठनपाठनमा बाधा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफ्ना मागहरु कानुन बमोजीम शान्तिपूर्ण रुपमा सम्बन्धित निकायमा राख्न सकिने उल्लेख गर्दै विद्यालय सञ्चालनका लागि गाउँपालिकाले सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई आग्रह गरेको छ ।

विद्यालय बन्द गर्नु विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ मा भएका व्यवस्था विरुद्धको कार्य भएकाले यसतर्फको सबैको ध्यान जानुपर्नेमा गाउँपालिकाले जोड दिएको छ ।

शिक्षकहरुको आन्दोलनका कारण बैतडीका ५४० ओटा सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएको छ । शिक्षकहरुको आन्दोलनका कारण कक्षा १ देखि १२ सम्मका ८६ हजार विद्यार्थीहरु पढाईबाट वञ्चित भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.