‘जिल्लाको समस्यामा ध्यान केन्द्रित छ’ ः कानुन मन्त्री भट्ट को भनाई
बैतडी – भाद्र २० सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले जिल्लाको समस्यामा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले बुधबार गोठालापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले प्रदेशमा कानुनको अभावमा विभिन्न कामहरु गर्न अप्ठ्यारो भइरहेकाले कानुन निर्माणमा पनी आफूले ध्यान दिने बताएका छन् । प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउँदै मन्त्री भट्टले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकार बलियो हुन आवश्यक रहेको बताए ।
आफूले सम्हालेको मन्त्रालयले तीनओटा क्षेत्र हेर्ने भएपनि संरचना र कर्मचारीको अभाव रहेको उनले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह र सञ्चार मन्त्रालयको समेत काम गरिरहेको तर त्यसका लागि आवश्यक संरचना नभएको उनले बताए ।
यस्तै पत्रकारहरुको राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री भट्टले बैतडीमा दुई बर्षभित्र विद्युतीकरण भइसक्ने दाबी गरे । उनले भने ‘जिल्लाका विद्युतीकरण नभएका ठाउँहरुमा विद्युतीकरणका लागि पहल भइरहेको छ । यसका लागि सम्बन्धित निकायसंग छलफल गरिसकेको छु । दुई बर्षभित्र विद्युतीकरणको काम सम्पन्न हुन्छ ।’
यस्तै जिल्ला अस्पातल बैतडीमा दरबन्दी अनुसारका डाक्टरको व्यवस्थापनका लागि संघीय स्वास्थ्य मन्त्रीसंग कुराकानी गरेको बताउँदै मन्त्री भट्टले अस्पतालमा जनशक्तिको व्यवस्थापनका लागि पहल गर्ने बताए ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बैतडी पुगेका मन्त्री भदौ २५ गते धनगढी फर्कने कार्यक्रम रहेको बताइएको छ ।