धौलीगंगा बाँध खोलियो, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह
बैतडी – भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । आज (मंगलबार) बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधका ढोका आजराति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले समेत महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा बाढीको सम्भावना भएकाले नदी छेउछाउमा नजान तटीय क्षेत्रका नागरिकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । राति ८ बजेसम्म बाँधको ढोका खुला रहने र त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र बाढीले सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाइराख्न स्थानीय प्रशासनहरुले समेत आग्रह गरेका छन् । भारतले सिल्ट सफाइको कामका लागि भन्दै परियोजनाको बाँधका ढोका खोल्ने यसअघि नै जानकारी गराएको थियो । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्खाका बेला हरेक वर्ष खोल्ने गरेको छ । २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।