मेलौली बस दुर्घटनाः जम्मा सवार ४६ जना, ६ जनालाई धनगढी रेफर, २५ जना डिस्चार्ज

बैतडी । हिजो मेलौलीमा भएको बस दुर्घटनामा परि घाईते २५ जनालाई डिस्चार्ज गरिएको छ। मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । यसैगरी डडेल्धुरा अस्पतालमा १४ जना उपचाररत रहेका छन।
यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, सगिंता रावत, दिपिका भटट, विसन भट्ट, र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले बताए। बाँकि घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बसमा ४६ जना सवार रहेका थिए। तीमध्ये एक जनाको मेलौलीमै मृत्यु भएको थियो । पञ्चेश्वर गाउंपालिका–३ कुलाउंबाट महेन्द्रनगर जादैं गरेको लु २ ख २०११ नम्बरको बस सोमबार हिजो दिउँसो १ बजे दुर्घटनामा परेको थियो। सो दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो। सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.