एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गरेको छ। बोर्डको बैठकको निर्णयअनुसार केही समय अगाडि नतिजा सार्वजनिक भएको हो। २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ। एसएमएस र आईभीआरबाट नतिजा प्रकाशनका लागि नेपाल टेलिकमसहित ५ वटा कम्पनीले स्वीकृति पाएका थिए। यस्तै, १४ वटा वेबसाइटबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिनुभयो । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्लस जीपीए ल्याएका थिए ।