खानेपानीको चरम अभाव रहेको देहिमाण्डौ बजारमा खानेपानी पुग्यो, स्थानीय पानी भर्दै
केशब महरा, बैतडी– खानेपानीको चरम अभाव रहेको बैतडीको देहिमाण्डौ बजारमा खानेपानी पुगेको छ । कुमालीगाड देहिमाण्डौ लिप्टिङ खानेपानी योजना अन्तर्गत देहिमाण्डौ बजारको सरकोट डाँडामा खानेपानी पुगेको हो । आव वर्ष २०७५÷७६ देखि सुरु भएको निर्मार्णाधिन अवस्थामा रहेको खानेपानी योजनाको पानी देहिमाण्डौमा पुगेको बताईएको छ । प्रदेश सरकारको बजेटबाट निर्माण भैरहेको उक्त कुमालीगाड देहिमाण्डौ लिप्टिङ योजना निर्माण प्रकियामै रहेको र सफलतापूर्व देहिमाण्डौमा पानी पुर्याइएको बताईएको छ । कुमालीगाड देखि ५ सय ६० मिटरमाथि (भर्टिकल हाइट) साँढे चार सय किलोमिटर लिफ्टिङ गरेर पानी पुर्याइएको हो । सफलतापूर्वक पानी पुगेको र अब ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरण गरिने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुर्य बहादुर बोहराले जानकारी दिए ।
असार मसान्तभित्रै देहिमाण्डौको सरकोट डाँडामा १ लाख लिटरको ट्याङ्की निर्माण गरिने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष बोहराले बताए । पानी पुगेपछि नागरिकहरु पनि खुसि भएका कुमालीगाड देहिमाण्डौ लिप्टिङ खानेपानी योजनाका अध्यक्ष उद्धब बहादुर बोहराले बताए । यो खानेपानीबाट देहिमाण्डौ बजार लगायत आसपासमा बसोबास गर्ने बस्तिका नागरिकहरु लाभान्वित हुने भएका छन् ।
खानेपानीको चरम अभाब रहेको यो ठाँउमा खानेपानी पुग्दा यहाँका स्थानिय, पसले व्यापारीले खुशी व्यक्त गरेका छन् । उनीहरुले खानेपानीको हाहाकार रहेको उक्त ठाँउमा पानी आएपछि वर्षाैदेखिको सपना साकार भएको बताएका छन् । पानी आए पछि अब पानी ल्याउन यताउता धाउन पर्ने बाध्यता हटेको देहिमाण्डौका होटेल व्यवसायीहरुको भनाई छ । पहिला पानी खोज्न कुवा,ईनार धाउन पर्ने बाध्यता रहेको र अब त्यो बाध्यता हटेको एक होटेल व्यवसायीले बताए । खानेपानीको चरम अभाव हुने देहिमाण्डौमा अब भने सहज हुने देखिएको छ । यहाँ स्थानिय पानी पुग्दा निकै खुशी भएका र आउँदा दिनमा पनि स्थानिय जनप्रतिनिधिले यस्तै राम्रो गरे खुशी हुने बताएका छन् । यो खानेपानी निर्माणमा अहिलेसम्म ३३ लाख खर्च भएको वडा अध्यक्ष बोहराले जानकारी दिनुभयो ।