सतबाँझ–श्रीभावर–हाट सडक; शुरुमा ट्रयाक खोल्न ढिला गरिए पनि सडक निर्माण कार्यले तिब्र गति लिदै
हरिशचन्द्र भाट— सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माण कार्यले तिब्र गति लिएको छ । प्रदेश गौरवको योजनालाई विशेष प्राथमिकताका साथ हेरिएको उक्त सडकले तिब्र गति लिएको हो ।
उक्त योजना अन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले बताए । यसअघि ६ किलोमिटरमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेकोमा थप १४ किलोमिटर कालोपत्रे गर्न भ्याट बाहेक ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको छ । उक्त सडक गाडागाउँदेखि कठेगौंडासम्म १४ किलोमिटर पर्ने सडकको कालोपत्रे गर्न तीन वर्ष समय लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश गौरव योजनाको रुपमा रहेको यो योजनाको निर्माण सम्पन्न भएमा छिमेकी जिल्ला बझाङ, जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकका लागि बैतडी जिल्ला सदरमुकाम जोड्ने द्रुत मार्गका रूपमा प्रयोग हुनेछ । साथै भारतीय सीमा नाका झुलाघाटका लागि समेत छोटो मार्गको रूपमा प्रयोग हुने भएकाले नागरिकलाई यात्रा गर्नमा मद्दत पुग्ने छ ।
आर्थिक वर्ष २०५५।०५६ सालमा यो सडकको शिलान्यास गरिएको भए पनि सडक शिलान्यास गरेको दुई दशक बढी भइसकेपछि बल्ल सडक निर्माणले गति लिन लागेको हो । शुरुमा ट्रयाक खोल्न ढिला भए पनि प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रूपमा राखेपछि हाल सडक स्तरोन्नतिको निर्माण कार्यले तीव्रता पाएको छ । सतबाँझ–श्रीभावर सडक खण्डभित्र पर्ने ६ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको निमार्ण कार्य छिटो सम्पन्न गरिए यो ठाँउको पर्यटन,व्यापार व्यबसाय फस्टाउने विश्वास गरिएको छ ।।सतबाँझ –श्रीभावर–हाट सडकलाई दार्चुलासंग जोड्ने भएकाले यो सडक थप प्रभावकारी हुने बताइएको छ । सतबाँझ श्रीभावर सडक बैतडीको मुख्य सडकको रुपमा रहेकाले यसलाई चाँडै स्तरोन्नती गर्नुपर्नेमा यहाँका नागरिकहरुले जोड दिएका छन् ।