बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा जिप दुर्घटना,६ जनाको घटनास्थलमै मृत्यु,प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा टोलि घटनास्थलमा
बैतडी – बैतडी – बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हो । दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । चालक सम्पर्क विहिन रहेका छन् । मृत्यु भएकाहरुको शव निकाल्ने कार्य अहिले बिहान शुरु हुने प्रहरी निरीक्षक खत्रीले बताए । भारतबाट रोजगारी गरेर बिसु मनाउनका लागि घर फर्केकाहरु दुर्घटनामा परेका हुन् ।बैतडीको पाटन नगरपालिका–८ को झौलेकमा भएको जीप दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा टोलि पुगेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीको टोलि घटना स्थलमा पुगेको हो । दुर्घटनास्थलमा रहेका शवहरुको संकलनका लागि बिहानैदेखि प्रहरी खटाइएको बताइएको छ ।जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ ।