बैतडीमा जिप दुर्घटना, एकको मृत्यु
बैतडी – बैतडीमा जिप दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । देहीमाण्डौं –गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा न. ५ तिलकपुर भीटा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन् । १२ जना सवार रहेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । अन्य ११ जना घाइते भएका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीसहित ३० जनाको उद्धार टोली घटनास्थल तर्फ गएको छ । ब्रेक फेल भइ जिप दुर्घटनामा परेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।