देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न, ७ सय भन्दा बढि राँगा र बोकाको बलि
बैतडी– बैतडीको देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलि सहित जात्रा सम्पन्न भएको छ । आज चैते दशैँमा लागेको जात्रा सम्पन्न भएको हो । हिजो देखि सुरु भएको जात्रा चैतेदशैंका दिन आज राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । जात्रामा २ सय ५० राँगा र ५ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले जानकारी दिए । मन्दिरमा चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा हुदै आएको थियो । निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा लाग्ने गरेको छ । सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका दिन पशुबलि दिने चलन रही आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेकोे छ । दशैंको बेला महाष्टमीका दिन पशुबलि सहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । यस्तै गरेर अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । निङ्गलाशैनी भगवती माताको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले टाढाबाट दर्शनार्थी आउने गरेका छन्।