देहिमान्डौ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो ठड्याइयो
हरिशचन्द्र भाट, बैतडी चैत्र ८ गते – बैतडीको देहिमान्डौ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा आज नवरात्र घटस्थापनाको दिन हिङलो ठड्याइएको छ । चैते नवरात्रको घटस्थापनाका दिन ‘हिङलो’ठड्याइएको निर्माण समितिका संयोजक प्रकाश बोहराले बताए। निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङलो जीर्ण भएपछि नयाँ हिङलो राखिएको हो । परापुर्व कालमा दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङलो राख्ने चलन रहि आएको भएपनि अहिलेको समयमा दार्चुलाको लालीबाट सालको काठ ल्याउन सम्भव हुन नसकेपछि स्थानीय युवाहरुको सक्रियतामा देवदारको हिङलो निर्माण गरेर ठड्याइएको भण्डारे बोहराले जानकारी दिए । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो । पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको सोही अनुसार हिङलो ठड्याइएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । मन्दिरमा गएको ६÷७ बर्ष यता हिङलो नभएकाले हिङलो ठड्याइएको हो । ‘निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’ राख्ने चलन रही आएको र परम्परा अनुसार हिङलो राखिएको भण्डारे बोहराले बताए । ‘निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो राख्ने पहिलादेखिको परम्परा रहि आएको भएपनि पछिल्लो समयमा हिङलो नहुँदा खल्लो महसुस भएको र सबैकोे सल्लाहमा हिङलो राखीएको भण्डारे बोहराले बताए । राखिएको हिङलोलाई रंगरोगन गरि ठड्याइएको छ। आज चैते नवरात्र घटस्थापनका दिन मन्दिरमा हिङलो ठड्याउने कार्यक्रममा स्थानीय,व्यापारी लगायत भक्तजनहरुको वाक्लो सहभागिता रहेको थियो।