चैतमा पनि पौषको जस्तै चिसो, कृषक लाई भने राहत पुग्ने

हरिशचन्द्र भाट बैतडी चैत ०७ गते – बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा सोमबार रातिदेखि बर्षा भइरहेको छ । यो बर्ष हिउँदे बर्षा नभएपनि चैतमा आएर बर्षा भइरहेकोे हो । चैते झरीले उच्च लेकाली क्षेत्रहरुमा भने चिसो बढन थालेको स्थानीयहरुले बताएका छन् । गएको दुई÷तीन दिनयता मौसममा आएको परिवर्तनले लेकाली क्षेत्रमा चिसो बढेका ेहो। सोमबार रातिदेखि लगातार बर्षा हुन थालेपछि चिसो बढदै गएको छ । अहिले चैतको महिना बर्षा भएको छ । चैतमा समेत पौषको जस्तै चिसो बढन थालेको बैतडिका स्थानियहरुको भनाई छ । बर्षाका कारण चिसो बढेको श्रीभावरका स्थानीय मानमती साउँदले बताएकी छिन् । केही दिन पहिला गर्मी शुरु भइसकेपनि पानी परेपछि फेरी चिसो बढेको उनले बताइन् । उच्च लेकाली क्षेत्रमा निकै चिसो बढेको उनले भनिन् । लामो समयदेखि बर्षा नहुँदा मारमा परेका किसानहरुलाई भने यो बर्षाले राहत मिलेको छ । बालीनालीका लागि यो बर्षा अमृतजस्तै भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । गहुँबाली, आलुबाली र फलफूलका लागि समेत यो बर्षा निकै लाभदायक रहेको उनले बताए । गहुँबालीका लागि अहिले सिँचाइ आवश्यक रहेकोले समयमा भएको बर्षाले किसानहरुलाई राहत पुग्ने भनाई छ । यस्तै हिउँदे फलफूलहरुमा समेत पालुवा आउने समय भएको र यो समयमा पानी आवश्यक पर्ने उनले बताए । सिँचाइको सुविधा नभएका ठाउँका लागि यो बर्षाले निकै फाइदा पुर्याउने स्थानियहरुले बताए । लामो समयपछि बर्षा भएकाले किसानहरु समेत खुसी भएका छन् । सिँचाइ सुविधा नभएका ठाउँमा यो बर्षाले निकै राहत पुर्याउने दशरथचन्द नगरपालिका १ का अगुवा किसान कृष्णदत्त भट्टले भनाई छ । लामो समयपछि भएको बर्षाले निकै राहत पुगेको र यसले थोरै भएपनि गहुँबाली सप्रिने अनुमान गरेको स्थानियहरु बताँउछन । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । साथै आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीको भनाई छ । । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविदहरु्ले बताएका छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.