देहिमान्डौ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थापनाका दिन ‘हिङलो’ ठड्याइदै

बैतडी – बैतडीको देहिमान्डौ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा चैत ८ गते (भोलि) हिङलो ठड्याइने भएको छ । चैते नवरात्रको घटस्थापनाका दिन ‘हिङलो’ठड्याउने तयारी भएको निर्माण समितिका संयोजक प्रकाश बोहराले जानकारी दिए । निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङलो जीर्ण भएपछि नयाँ हिङलो राख्न लागिएकोे हो । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको छ । पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले जानकारी दिए । मन्दिरमा गएको ६÷७ बर्ष यता हिङलो नभएकाले हिङलो ठड्याउने तयारी भएको हो । ‘निङ्गलाशैनी भगवती मन्दिरमा परापूर्वकालदेखि नै ‘हिङलो’ राख्ने चलन रही आएको र परम्परा अनुसार हिङलो राख्ने तयार पारेको भण्डारे चक्रबहादुर बोहराले बताए । पहिला पहिला दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङलो राख्ने चलन रहेको थियो । दार्चुलाको लालीबाट सालको काठ ल्याउन सम्भव हुन नसकेपछि स्थानीय युवाहरुको सक्रियतामा देवदारको हिङलो निर्माण गरिएको उनले बताए । ‘निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो राख्ने पहिलादेखिको परम्परा रहि आएको भएपनि पछिल्लो समयमा हिङलो नहुँदा खल्लो महसुस भएको र सबैकोे सल्लाहमा हिङलो राख्ने निर्णय गरीएको भण्डारे बोहराले बताए । मन्दिरमा ठड्याउन तयार पारिएको हिङलोलाई रंगरोगन गरिएको उनले बताए । चैते नवरात्र घटस्थापनका दिन मन्दिरमा हिङलो ठड्याउने कार्यक्रम रहेकाले सबैलाई सहभागिताका लागि आग्रह समेत गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.