बझाङ जाँडरक्सी खानेबाट ३२ लाख रुपैयाँ जरिबाना सङ्कलन, विद्यालय निर्माणमा प्रयाेग

बैतडी जाँडरक्सी नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा जाँडरक्सी नियन्त्रणका लागि दुई/चार हजार रुपैयाँ असुल गरेपछि नियमित खानेहरूको पनि भागाभाग हुन्छ।दोस्रो पटक जरिबानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस (अहिलेको सुर्मा गाउँपालिका–१) मा भने जाँडरक्सी खाएर जरिबाना तिर्नेलाई जरिबानाले खासै छोएन । जति जरिबाना तिरे पनि खाने र बिक्री गर्ने कम भएनन् ।

जिल्लामै दौलिचौर गाविस सबैभन्दा बढी अशान्त भइरह्यो । नेपाल प्रहरीले पनि ४५ जनासम्म सुरक्षाकर्मी राख्यो । जिल्लामै चुनौतीको विषय बनेको जाँडरक्सी र हिंसा केही वर्षपछि मात्रै साम्य हुँदै गयो । २०६७ सालमा दौलिचौरमा जाँडरक्सी अत्यधिक भएपछि नियन्त्रण समिति बन्यो । समितिले जाँडरक्सी बेच्ने, खानेलाई चर्को जरिबाना तोक्यो । सुरक्षाकर्मीलाई जाँड खानेलाई समात्ने जिम्मेवारी दिइयो । समितिका अध्यक्ष बन्नुभयो गोरखबहादुर बोहरा ।

उहाँको कार्यकालमा जाँडरक्सीको जरिबानाबाट ३२ लाख रुपैयाँ सङ्कलन भयो । २०६७ देखि २०७४ सालसम्म जाँडरक्सी नियन्त्रण समितिले दौलिचौरमा सङ्कलन गरेको रकम जम्मा गरेर दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्यो । उहाँ भन्नुहुन्छ, ‘त्यसबाट २५ प्रतिशतअर्थात् आठ लाख रुपैयाँ जाँडरक्सी खानेलाई समातेबापत प्रहरीलाई दियौँ । बाँकी सङ्कलन भएको रकमले विद्यालयको पक्की भवन बनायौँ ।’

उहाँका अनुसार जिल्लामै तत्कालीन सयममा जाँडरक्सीको भण्डार दौलिचौरलाई मानिन्थ्यो । ‘जिल्लाभर अन्य ठाउँमा नपाइने जाँडरक्सी पनि दौलिचौरमा आउन थालेपछि हामीले जाँडरक्सी नियन्त्रण समिति बनायौँ,’ उहाँ भन्नुहुन्छ, ‘समितिले सुरूमा जाँडरक्सी नियन्त्रणका लागि प्रत्येक गाउँ गाउँमा अभियान नै चलायो तर, जाँडरक्सी रोकिएन । पछि अनिवार्य जरिबानाको नियम बनायौँ ।’ जाँडरक्सीसँगै क्यारेम, गुच्ची खेल्नेलाई पनि नियन्त्रणमा लिँदै जरिबाना तिराएको बोहरा सम्झनुहुन्छ ।

जाँडरक्सी बेच्नेलाई २५ हजार, खानेलाई १० हजार, क्यारेमबोर्ड खेल्नेलाई १० हजार, गुच्चा खेल्नेलाई १५ सय रुपैयाँका दरले जरिबाना गराएपछि सात वर्षमै ३२ लाख रुपैयाँ सङ्कलन गरेर त्यस रकमले विद्यालयको पक्की भवन बनाएको उहाँले बताउनुभयो । जाँडरक्सीले नियन्त्रणको जरिबानाबाट दुई लाख ५० हजार रुपैयाँको विद्यालयमा मन्दिर र चौतारा, ३५ हजारको सोलार, २५ हजारको घेरबार, २० हजारको मन्दिरमा मूर्ति र घण्टीसहित दुई कोठे पक्की भवन बनाएको थियो ।

तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि जाँडरक्सी नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताउनुहुन्छ । ‘विद्यालयका भवन त्यसै रकमले मात्रै त होइन तर पनि त्यति ठूलो रकम सङ्कलन भएको हुँदा धेरै काम भयो ‘ उहाँ भन्नुहुन्छ ।

विद्यालयका अन्य भवन बनाउनका लागि छ/सात वर्षमै दौलिचौरबाट ७० लाख रुपैयाँ चन्दा उठाएको उहाँले बताउनुभयो । ‘अहिले त भवन नै बनेका छैनन्’, उहाँले भन्नुभयो, ‘त्यस बेलामा धेरै ठाउँबाट स्रोत जुटाएर ६ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गरेका हौँ ।’ विद्यालयमा खानेपानी, शौचालय, घेरबारलगायतका काम स्थानीय सरकार आउनुअगावै बनाएको उहाँले बताउनुभयो ।

पहिलेको तुलनामा अहिले दौलिचौर निकै शान्त छ । सुर्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशीले भन्नुभयो, ‘म पहिलो स्थानीय सरकार बनेपछि आएको हुँ । पहिले निकै अशान्त भन्ने सुनिन्थ्यो । जाँडरक्सीकै कारण हत्या पनि भएको रहेछ । घरेलु हिंसा त घरैपिच्छे हुन्थ्यो भन्ने सुनिन्थ्यो । अहिले भने त्यस्ता घटना सुनेकै छैन ।’

उहाँका अनुसार अहिले सुर्मामा धेरै मान्छे आफ्नो काममा व्यस्त भएका छन् । ‘सुर्मामै अहिले फुर्सदिला मान्छे भेट्न मुस्किल पर्ला जस्तो छ । रातदिन आफ्नै काममा लागेका मान्छे भेटिन्छन् ।’ सुर्मा गाउँपालिकामा जाँडरक्सी खाएर हिँड्ने मान्छे धेरै कम भएको उहाँले बताउनुभयो । दौलिचौरमा जाँडरक्सी नियन्त्रण समिति पनि अहिले निष्क्रिय भएको उहाँले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.