हिउँद सकिनै लागेको समयमा चराहरु गुँड बनाउन र बच्चा कोरल्न थाले
बैतडी अहिलेको समय चराका लागि उपयुक्त भएको चराविद्ले बताएका छन् । रैथाने जातका चराहरु यतिबेला धमाधम गुँड बनाउन जुटेका छन् । वरिष्ठ चराविद् डाक्टर हेमसागर बरालका अनुसार हिउँद सकिनै लाग्दा रैथाने चराहरु गुँड बनाउन र बच्चा कोरल्न व्यस्त हुन्छन् । अहिले चरा पनि खुशी हुने समय भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘चराहरुले यो समयमा गीत गाउने, चिरबिरचिरबिर गर्ने र एक अर्कालाई ठूलो स्वरले बोलाउने गर्दछन् । जुन हामीले अहिले ग्रामीण क्षेत्रमा मात्रै नभएर सहरी क्षेत्रमा पनि सुनिरहेका छौँ ।’ यस्तै हिउँद सकिन लागेसँगै पाहुना चरा पनि नेपाल आउन थालेका छन् । अब बिस्तारै ग्रीष्मकालीन आगन्तुक चराहरु नेपाल आउने क्रम बढ्नेछ । गर्मी छल्नका लागि दक्षिण क्षेत्रबाट चराहरु नेपाल भित्रने गर्छन् ।कटुस टाउके मुरली प्रजातिका चरा नेपाल आउन थालिसकेका छन् । गर्मीयाममा आउने आगन्तुक चरामा कोइली, मुरलीचरा, फिस्टा, चिबे आदि छन् । थाइल्यान्ड, श्रीलङ्कासहित दक्षिण–पूर्वी एसियाली देश र अस्ट्रेलियाबाट चरा आउने गरेका छन् । यी चराहरुले नेपालमा बच्चा कोरल्ने गर्दछन् । नेपालमा अहिले रैथाने प्रजातिका ६ सय ५० चरा छन् । अहिलेसम्मको तथ्याङ्कले ६० भन्दा बढी प्रजातिका ग्रीष्मकालीन आगन्तुक चरा नेपाल आउने गरेका देखाएको छ।
रैथाने र आगन्तुक गरी सात सयभन्दा धेरै प्रजातिका चराले नेपालमा बच्चा कोरल्छन् । धेरैजसो चराले घारी र रुखमा गुँड बनाउँछन् । सहरी क्षेत्रमा भने रुख र घारीको अभावमा घर वा खम्बाहरुमा समेत चराले गुँड बनाउने गरेका छन्। गुँड बनाउने ठाउँ अभावमा चरा सङ्कटमा पर्न थालेको भन्दै चराविद्हरुले बासस्थानको संरक्षणमा जोड दिँदै आएका छन् ।यस्तै, जाडो छल्न नेपाल आएका चराहरु हिउँद सकिन लागेसँगै फर्किन थालेका छन् । चराविद् डाक्टर हेमसागर बरालका अनुसार हिउँदमा १ सय ५० भन्दा धेरै प्रजातिका चरा नेपाल आउँछन् । जसको ठूलो सङ्ख्या कोशीटप्पुमा बस्छ । चराविद् डाक्टर बरालका अनुसार नेपालमा अहिले ८ सय ९१ प्रजाति चरा पाइन्छन् ।