बैतडीमा महिला टि–२० क्रिकेटः द.न.पा.२ र द.न.पा ८ फाइनलमा
बैतडी माघ १६ बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता अन्र्तगत दनपा २ देहिमाडौं र दनपा ८ त्रिपुरा फाइनलमा पुगेका छन् ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा दनपा ६ थालिगडालाई ११९ रनले स्तब्ध पार्दै देहिमाडौं फाइनलमा प्रवेश गरेको हो । देहिमाडौंले दिएको १९७ रनको बिशाल लक्ष्य पन्छाएको थालिगडा १६ दशमलब २ ओभरमा ७७ रनमा समेटियो । ममता चन्दले १८ र सन्जु पेलाले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा समेत रन बनाउन नसक्दा थालिगडा सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । देहिमाडौंका लागि बसन्ती बोहराले ३ तथा आरती बोहरा र लक्ष्मी बोहराले दुई विकेट हात पारे ।
त्यसअघि घरेल्ु मैदान निंग्लाशैनी क्रिकेट मैदानमा पहिला ब्याटिंग गरेको देहिमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १९६ रन बनायो । जसमा मिना रावतले ४४ र पिंकी बोहराले ३६ रनको योगदान गरिन् । थालिगडाकी पुजा कार्की,सन्जु् पेला र जयन्ती कार्कीले दुई दुई विकेट हात पारे । देहिमाडौंकी मिना रावत ओम्यान अफ द म्याच चुनिएकी स्कोरर तिलक बोहराले जानकारी दिनुभयो ।
यस्तै आजै सम्पन्न अर्को सेमिफाइनल खेलमा दनपा १० बाराकोटलाई ३४ रनले पराजित गर्दै दनपा ८ त्रिपुरा फाइनलमा सुरक्षित भएको छ । जितका लागि १४६ रनको लक्ष्य पन्छाएको बाराकोट १७ दशमलब १ ओभरमा १११ रनमा अलआउट भयो । जसमा प्रियान्सी चन्दले सर्वाधिक ३१ रन बनाएपनि हार टार्न सकेनन् । त्रिपुराका जानवी मौनी र नीलम महरले तीन तीन विकेट हात पारे ।
त्यसअघि पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धारित २० ओभरमा रितु पेलाको ३१ रनको मद्दतमा १४५ रन बनायो । बाराकोटका लागि प्रयान्सी चन्दले ४ र रितु बुडालले ३ विकेट हात पारिन् । जानवी ओम्यान अफ द म्याच भइन् ।
दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता माघ ९ गतेदेखि शुरू भएको हो । सहिद दिवसको अवसरमा सहिद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगिता मंगलबार सम्पन्न हुदैंछ ।
नगरका ७ टोलीको सहभागि प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५÷१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ ।
समापन समारोहमा दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ ।
यस्तै यस प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्च स्वरुप जनही १५० का दरले खेलाडीलाई नगद दिने गरिएको छ ।
यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो। खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताउनुभयो ।
निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।