बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा दुई पक्षबीच झडप हुँदा ३५ जना घाइते
बैतडी –बैतडीको मेलौली नगरपालिकमा १५ शैय्याको अस्पताल निर्माणका बिषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीयबासिन्दाहरुले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।
त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन् । सोहि बिषयमा विवादहुदा नगरपालिकाको वडा नं १ र वडा नं ७ का स्थानीयबीच झडप भएको हो। झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । वडा नं १ को समूहले आफहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन् । त्यस्तै वडा नं १ तर्फका पनि १० जना घाइते भएका स्थानीय विजयसिंह नायकले बताए ।
अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकीन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी सहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ । अस्पतालकै बिषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।