शिक्षक बिष्टको हत्याका अभियुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक
०७ पुस बैतडी – बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गरिएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै बिहीबार हत्याका अभियुक्त सार्वजनिक गरेको हो।जिल्लाको पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो। उनीहरु दुवै जना श्रीमान–श्रीमति हुन्।
बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन्। उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी छन्।पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा उनका श्रीमान प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको छ। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने ‘पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए। त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे।
छात्रबासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ। घटनाका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए। घटनामा अरु संलग्नताका बिषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए।
शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो। मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो। शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन समेत गरिएको थियो।