बैतडी शिक्षक मृत्यु प्रकरण : दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी –बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको मृत्यु नभइ हत्या गरिएको भन्दै परिवारजनले आशंका गरेपछि निष्पक्ष छानबीनको माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम शुरु गरी आज पनि बैतडीका विभिन्न ठाउँमा स्थानीयबासी र विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।

जिल्लाको सतबाँझ, सिउडे, ठाँड, पाटन लगायतका क्षेत्रमा स्थानीय र विद्यार्थीहरुले सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका छन् । शिक्षक बिष्टको हत्या भएको भन्दै दोषीको पहिचान गरी कारवाही हुनुपर्ने माग राखिएको छ । बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा टायर बालेर प्रर्दशन भएपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।खोड्पेमा स्थानीयहरुले एकघण्टा बजार बन्द गरेर शिक्षक बिष्टको न्यायका लागि प्रर्दशन गरेका छन् ।

गएको शनिबार कृष्ण माविको छात्रबास पछाडि भिरालो ठाउँमा शिक्षक बिष्टको शव फेला परेको थियो । शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले अझै शव बुझेका छैनन् । मृतकका परिवारले भवितव्य मृत्यु नभइ हत्या भएको भन्दै दोषीको पहिचान नहुँदा सम्म शव नबुझ्ने अडान लिएका छन् । घटनाका बिषयमा सुक्ष्म हिसाबले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.