बैतडीः पहिलो अन्तर पालिका समन्वय बैठक सम्पन्न
आशिष माल -असोज १२ /बैतडीमा पहिलो अन्तर पालिका समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बैतडीको आयोजनामा सोमबार चालु आर्थिक बर्ष २०७७÷०७८ अन्तर पालिका समन्वय बैठक सोमबार सम्पन्न भएको हो । जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका स्थानिय सरकारका प्रमुख तथा उपप्रमुखको सहभागीतामा स्थानिय सरकारका गतिबिधिहरुको बारेमा छलफल गरिएको छ ।
स्थानिय सरकारहरुका रणनिति तथा कार्यक्रमहरुको बारेमा र कोभिड १९ को प्रभाबका बारेमा समन्वय बैठकमा छलफल गरिएको हो । कोरोनाले नराम्ररी प्रभाबित भएको शिक्षा क्षेत्रको बारेमा स्थानिय सरकारका प्रतिनिधहरुले छलफल गरेका छन । लामो समयदेखि बिद्यालयहरु बन्द हुदा पठनपाठन ठप्प रहेको अबस्थामा बिद्यार्थी तथा अभिभाबकहरुमा परेको प्रभाबलाई मध्यनजर गर्दै शैक्षिक क्षेत्रको सुधार कसरी गर्न सकिन्छ भन्ने बिषयमा बैठक केन्द्रित भएको थियो । कार्यक्रममा बोल्नु हुँदै दशरथचन्द नगरपालिकाका नगरप्रमुख प्रमुख नरेन्द्र सिह थापाले सुरक्षाका मापदण्डहरु पालना गर्दै बिद्यालयहरु सञ्चालन गर्ने बिषयमा छलफल भईरहेको बताउनुभयो ।
पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चन्दले पनि संक्रमणको दर झनै बढेकोले रोकिएको पठनपाठन सञ्चालनका लागी निकै चुनौती रहेको उल्लेख गर्नुभयो । यस्तै उहाँले जिल्लामा शिक्षा क्षेत्रको सुधारका लागी एउटा ठोस धारणा बनाउनु पर्ने आवश्यक्ता औल्याउनुभयो । मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिाह नायकले तत्काल बिद्यलायहरु सञ्चालन गर्नु जानी जानी जोखिम निम्ताउने जस्तै भएकोले संक्रमणको जोखिक कम भएमा दशै तिहार पछि मात्रै नगरपालिकामा बिद्यलायहरु सञ्चालन हुने बताउनुभयो ।
यस्तै पुर्चौडी नगरपालिकाका प्रमुख रण बहादुर कुवंरले नगरपालिकामा एक जना कोरोना संक्रमितको ज्यान गएको भन्दै सञ्चालनमा आएका बिद्यलायहरु फेरी बन्द गर्नु परेको बताउनुभयो । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकामा ३० बार्डको आईशोलेसन भवन निर्माण कार्य अन्तिम चरण पुगेको उहाको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्ने अधिकासं स्थानिय सरकारका प्रतिनिधिहरुले कोरोना संक्रमण न्युनीकरणको प्रयास, राहत बितरण लागायतका अन्य विविध बिषयहरुमा जानकारी गराएका थिए । सोमबार दशरथचन्द नगरपालिकाको सभाहलमा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारि मोहन राज जोशी , सुरक्षा निकायका प्रमुख जिल्लाका स्थानियतहका प्रमुख तथा उप्रमुखको सहभागिता रहेको थियो ।