बैतडीमा उपमेयर कप क्रिकेटको उपाधि दनपा २ ले जित्यो

बैतडी–चैत्र ११/ बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालन भएको उपमेयर कपको उपाधि दशरथचन्द नगरपालिका वडा नं २ ले जितेको छ । शुक्रबार निङ्लाशैनी खेल मैदानमा भएको खेलमा दनपा २ ले दनपा ६ लाई ७९ रनले पराजित गर्दै उपमेयर कप क्रिकेटको उपाधि उचालेको हो । देहिमाडौंले दिएको १४० रनको लक्ष्य पन्छाएको थालिगडा १६.४ ओभरमा ६० रनमा समेटियो । ललिता चन्दले २१ र पुजा कार्कीले १० रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन नसक्दा थालिगडा उपाधि जित्नबाट चुक्यो । देहिमाडौंकी निर्मला कार्कीले ३ र वबिता बोहराले २ विकेट लिइन् । त्यसअघि घरेलु मैदानमा पहिला ब्याटिंग गरेको देहिमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३९ रन बनायो । जसमा पिंकी बोहराले नटआउट ५९ रन बनाईन् । थालिगडाकी पुजा कार्की र सन्जु पेलाले २÷२ विकेट हात पारिन् । देहिमाडौंकी पिंकी बोहरा वोमन अफ द फाइनल भएकी स्कोरर द्रोपती कुँवर बोहराले जानकारी दिइन् ।

    यसैबीच प्रतियोगिताभर व्यक्तिगत १२ विकेट र ७० रन बनाएकी देहिमाडौंकी बविता बोहरा वोमन अफ द सिरिज भईन् । यस्तै १२४ रन हिर्काएकी देहिमाडौंकी मनिषा बोहरा बेस्ट ब्याट्सओमन र १२ विकेट लिएकी त्रिपुराकी जानबी मौनी बेस्ट बलर चुनिइन् । उपाधि जितेसंगैं दनपा २ ले ४५ हजार नगद ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको दनपा ६ ले ३० हजार नगद ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ ।

  विजेता र उपविजेता खेलाडीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, दनपा २ का वडाध्यक्ष रनबहादुर बोहरा, जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार दिए । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुदैं आएको नगरक्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । यस बर्षको उपमेयर क्रिकेट कप चैत ५ गतेबाट शूरु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.