हिउँदे यामको चिसो छेक्न शिद्धेश्वर मावि हुक्केडाडाद्वारा कक्षा कोठामा हिटर जडान
बैतडी– बैतडीको एक विद्यालयले न्यानो कक्षा कोठाहरुको उद्घाटन गरेको छ । हिउँदे यामको चिसोबाट विद्यार्थीहरुलाई बचाउनका लागि जिल्लाको पाटन नगरपालिका वडा नं ९ स्थि शिद्धेश्वर मावि हुक्केडाडाले प्रत्येक कक्षा कोठामा हिटर जडान गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिहँ भाटले जानकारी दिनुभयो। उहाँका अनुसार शिशु कक्षा देखि १० सम्मको प्रत्येक कोठामा २÷२ ओटा हिटर जडान गरिएको छ ।
शिद्धेश्वर मावि हुक्केडाडाले एक औपचारीक कार्यक्रमका विच साेमबार कक्षा कोठाहरुमा हिटर जडान गरेको छ । नेकपा एमाले बैतडीका जिल्ला कमिटि सचिवालय सदस्य एवँ बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीका स्वकिय सचिव लोकेन्द्र भण्डारीको प्रमुख आथित्यता, पाटन नगरपालिकाका प्रवक्ता लोक बहादुर भण्डारीको विशिष्ट आथित्यतामा कार्यक्रम गरि कक्षा कोठाहरुमा हिटर जडान गरिएकाे विद्यालय स्रोतले बताएको छ । प्रत्येक विद्यार्थीबाट २ सय रुपयाँ संकलन गरिएको र अपुग रकम विद्यालयबाट थपेर हिटर खरिद गरेर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटको भनाई छ ।
कतिपय अभिभावकहरुको आर्थीक अवस्था कमजोरका कारण न्यानो लुगानै खरिद गरि विद्यार्थीहरुलाइ दिन नसक्ने भएकाले आफुहरुले कक्षा कोठा न्यानो गरि पठन पाठन गर्ने हेतुले हिटर जडान गरेका उहाँले बताउनुभयो । यसबाट विद्यार्थीहरुलाइ सहज हुने अपेक्षा गरिएको छ । जडान गरिएका हिटरहरुबाट विद्यार्थीहरुलाई हिउँदे यामको चिसो छेक्न मदत मिल्ने र यसबाट पठनपाठन प्रभावित नहुने विश्वास व्यक्त गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिहँ भाटको अध्यक्षतामा भएको न्यानो कक्षा कोठा उद्घाटन कार्यक्रममा सञ्चारकर्मी , शिक्षक विद्यार्थी र अभिभावहरुको सहभागिता रहेको थियो । शिद्धेश्वर मावि हुक्केडाडामा २ सय ८५ जना विद्यार्थी अध्यनरत छन् ।