एमालेले तोक्यो ७ प्रदेश अध्यक्ष, सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी
बैतडी ;नेकपा (एमाले)ले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । जसमा नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा दामोदर भण्डारी मनोनित भएका छन् । नेकपा एमालेको दोश्रो केन्द्रिय कमिटिको बैठकले भण्डारीलाई सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले जानकारी दिए।
बैतडीबाट निर्वाचित संघीय सांसद समेत रहेका भण्डारीलाई एमालेले प्रदेश कमिटिको अध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै उपाध्यक्षमा अछामका कमल तिमिल्सना र सचिवमा कैलालीका धर्मराज पाठकलाई मनोनित गरेको छ । उपसचिबमा बलदेव रेग्मी र भागरथि विष्ट प्रस्ताव गरिएको छ ।यस्तै प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, र कर्णालीको विनोदकुमार शाहलाई प्रस्ताव गरिएको छ ।उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले पूर्णता पाएसंगै आगामी माघ ८ गते प्रथम प्रदेश अधिवेशन हुने केन्द्रिय सदस्य भट्टले बताए । अधिवेशनले प्रदेशमा नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।