बैतडीः सुर्नया गाउँपालिकामा बजार अनुगमन , ६ हजार बढीका अखाद्य सामाग्री नष्ट
बैतडी–असोज ७/ बैतडीको सुर्नया गाउँपालिकाले बजार अनुगमन गर्न थालेको छ । दशैँ तिहारलाई लक्षित गर्दै ग्राहकहरु नठगीउन भन्ने उदेश्यले बुधबारबाट बजार अनुगमन सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष एबंम अनुगमन समिति संयोजक लीला बिष्टले जानकारी दिनुभयो ।
बुधबार सुर्नया गाउँपालिकाको वडा नम्बर २ र ३ अन्र्तगतका सतँबाज, धर्मघर, सिन्केलेक, गोयलागैर, सिउँडे र स्यागैर बजार अनुगमन गरिएको उहाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, प्रहरी, घरेलु बिकास तथा साना उद्योग बिकास समिति, खाद्य प्रविधि तथा गुण नियनत्रण डिभिजन बैतडी र सुर्नया गाउँपालिकाको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो ।
नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गरिएको बजार अनुगमनका क्रममा ६ हजार बढी मुल्य बराबरका अखाद्य सामाग्रीहरु बरामद गरी नष्ट गरिएको उपाध्यक्ष बिष्टले बताउनुभयो । बिभिन्न प्रकारका पेय पदार्थ, तरल पदार्थ र खाद्य सामाग्रीहरु म्याद नाघेका पाइएकाले बरामद गरि नष्ट गरिएको हो । बुधबार होटल र किराना पसल गरी जम्मा ३१ ओटा पसलहरुमा अनुगमन गरिएको र अनुगमनलाई निरन्तरता दिईने पनी अनुगमन समितिले जनाएको छ ।