बैतडी प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि
बैतडी–असोज ६ / जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षण ३ जनामा कोरोना पुष्टि भएको छ । आज कोरोना पुष्टि हुनेमा बैतडीका २ जना र दार्चुलाका १ जना रहेको अस्पतालले जनाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ३ का २१ वर्षीय पुरुष र दशरथचन्द नगरपालिका ९ का ५९ वर्षीय पुरुषमा कोरोना पृष्टि भएको हो । यस्तै नेपाल टेलिकम दार्चुलामा कार्यरत ४७ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बैतडीको दोगडाकेदारका पुरुष भारतबाट फर्किएर होम क्वारेन्टीनमा रहेका गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । उनलाई संस्थागत आइसोलेसनमा राख्ने तयारी भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका संक्रमित भने नेपालगञ्जबाट आएर जिल्ला अस्पतालमा ज्वरो आएर भर्ना भएका बिरामी रहेका बताईएको छ । उनलाई अहिले अस्पतालकै आइसोलेसनमा राखिएको जनाएको छ । यस्तै दार्चुलाका कोरोना पुष्टि हुने पनि पुरुष होम क्वारेन्टाइनमा रहेका छन् । बैतडी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८३ जनाको कोरोना परीक्षण गरिएको थियो ।