बैतडीमा पहिरोपीडित परिवारलाई १ लाख ५० हजार प्रदान
बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु. एक लाख ५० हजार प्रदान गरेको छ। शिवनाथ–६ बसेडीका भानु , देवानी र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो। उनीहरुको यही कात्तिक २ गते पहिरामा पुरिएर मुत्यु भएको थियो।
गाउँपालिकाका अध्यक्ष कर्ण साउँद र उपाध्यक्ष कुस्मा चन्दलगायतको टोलीले पीडितको घरमै पुगेर आज सो रकम हस्तान्तरण गरेको हो। गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएबमोजिम राहत प्रदान गरिएको जनाइएको छ। गाउँपालिकाका तर्फबाट जनही ५० हजारका दरले नगद प्रदान गरिएको र खाद्यान्न सामग्री पनि वितरण गरिएको हो। पहिराले घर लगेपछि आफन्तको घरमा आश्रय लिएर बसिरहेका पीडित परिवारलाई एक क्विन्टल चामल, १० किलो दाल, चार किलो नुन पनि गाउँपालिकाले वितरण गरेको हो।
पहिरोपीडित उचित बसोबासका लागि पनि पालिकाले पहल गर्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए। गाउँपालिकाले तत्काल राहत कार्यविधिअनुसार पहिरामा पुरिएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको र अन्य ठाउँको पनि क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ। गाउँपालिका अध्यक्ष साउँदले भने, “गाउँपालिकाका सबै ठाउँमा पहिराले क्षति पु¥याएको छ, हामी स्थलगत रुपमै अनुगमन निरीक्षण गर्दैछौँ।”