नेपाली कांग्रेस बैतडीका नेता कार्यकर्ता पहिरोपिडीतको घरमा
बैतडी-नेपाली कांग्रेस बैतडीका नेता कार्यकर्ता पहिरोपिडीतको घरमा पुगेका छन् । पिडीतको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसंग थप राहतको माग गर्नका लागि बैतडीका कांग्रेस नेता कार्यकर्ताहरु पहिरोपिडीतको घरघरमा पुगेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहनुभएका चतुरबहादुर चन्द,जिल्ला सभापति नरेन्द्रसिंह थापा,उपसभापतिका उम्मेदवार रमेश पाण्डेय,सचिवका उम्मेदवारद्वय प्रेम चन्द र देवराज जोशी, सहसचिव पदका उम्मेदवार दशरथ सिंह चाँड,पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द,प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्ट, महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरेन्द्र ऐर,शिवनाथका पार्टी सभापति हिरा चन्द,वडा नम्बर ४ का सभापति कृष्णबहादुर चन्द, वडा नम्बर ५ का सभापति रविन्द्र बहादुर चन्दलगायतको टोली पिडीतको घरमा पुगेको हो ।
टोली आज शिवनाथ गाउँपालिका वडा नम्वर ३,४,५,६ का पहिरोपिडीतको घरमा पुगेको हो । भेटका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहनुभएका चतुरबहादुर चन्दले पिडीतको लागि राहत तथा पुर्नस्थापनाको लागि सरकारसंग माग गर्ने बताउनुभएको छ । यसका साथै नेपाली कांग्रेस प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्टले शिवनाथ ४ मा का पहिरोपिडीत काली खत्रीको परिवारलाई व्यक्तिगत रुपमा पाँज हजार रुपैंया नगद सहयोग गर्नुभएको छ ।
पहिरोले कालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । जिल्लाका अन्य स्थानका पहिरोपिडीतको घरमा पुग्ने समेत कार्यक्रम रहेको जनाइएको छ । यही कात्तिक पहिलो साता आएको पहिरोमा परेर शिवनाथका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो भने र सुर्नया गाउँपालिका जना ५ की परुदेवी महराको मृत्यु भएको थियो । यसका साथै जिल्लाका अन्य ठाउँमा पनि बाढीपहिरोले क्षति पुगाएको छ ।