बैतडीका ग्रामिण सडकमा सवारी गुडाउन सकस
बैतडी-बैतडीका ग्रामिण सडकमा सवारी साधन सञ्चालनमा समस्या भएको छ। केहि दिन पहिले भएको अविरल वर्षाले सडक हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको हो ।
जिल्लामा अधिकाँश ग्रामिण सडक अहिले अवरुद्ध भएका छन् भने कतिपय सडक खण्ड हिलाम्य भएर सवारी गुडाउन सकस भएको हो । जिल्लाको सुर्नया गाउँपालिकाको सत्तबाँझ सुर्नया सडक वर्षादले हिलाम्य भएपछि जीप गुडाउनै सकस भएको जीपचालक बिरेन्द्र महराले बताउनुभयो ।
सत्तबाँझ सुर्नया सडकको कतिपय ठाउँमा हिलोका कारण यात्रुहरुलाइ जीपबाट उतारेर धक्का लगाइ अगाडी बढाउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यस्तै बैतडीका कतिपय अवरुद्ध ग्रामिण सडक सुचारु हुनसकेका छैनन् ।
वर्षाभएर अवरुद्ध जिल्लाको छेला दुर्गाभवानी सडक ,ढोल्यामोड–हाट सडक,दुदिलाखान गाँजरी सडक, अनारखोली कैलपाल सडक,सिल्लेगडा–कटौजपानी सडक, ढुंगाड–गर्जे लगायतका सडकहरु अझै सुचारु नभएका हुन् । ठाउँ ठाउँमा पहिरो गएर गाडी चल्न नसकेका त्यहाँका स्थानीयहरुले बताएका छन् ।
सडक अवरुद्ध भएपछि अत्यावश्यक सेवा, खाद्यान्न सामान ढुवानि गर्न र आवतजावतमा समस्या भएको छ । पहिरो पन्छाएर सञ्चालनमा आएका जिल्लाका कतिपय ग्रामिण सडकमा हिलोले सवारीसाधनमा यात्रा कष्टकर बनेको छ भने अवरुद्ध सडक सञ्चालन नहुँदा नागरिकहरु समस्यामा छन् ।
वर्षात भए यहाँका ग्रामिण सडकहरु अवरुद्ध हुने गरेका छन् । तर सम्बन्धीत निकायले समयमै सुचारु गर्ने प्रयास नगरिदिदा स्थानीयहरुलाइ सास्ती हुनेगरेको छ।