बैतडी : आज र भोली बालबालीकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने
बैतडी-कार्तिक ०७/ बैतडीमा पनी आज र भोली बालबालीकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने भएको छ । जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडीका २३ हजार ८ सय ९४ जना बालबालीकाहरुलाई भिटामिन ‘ए’ र २१ हजार ५८ जना बालबालीकाहरुलाई जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी हरिश भट्टले जानकारी दिनुभएको छ ।
प्रत्येक स्वास्थ्य चौकीहरुले तोकेका बुथ केन्द्रहरुमा लगेर जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय बैतडीले सबैमा आग्रह समेत गरेको छ । अभियानका लागी जिल्लाभरिमा ८ सय ३१ जना महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिएका छन् । आज र भोली छुटेका बालबालिकाहरुलाई महिला स्वास्थ्य स्वयसेविकाहरुले घरमै गएर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने स्वास्थ्य कार्यालयका सुचना अधिकारी भट्टले बताउनुभयो ।
कोभिड १९ को जोखिम कायमै रहेकोले संक्रमणबाट बच्नका लागी आबश्यक स्वास्थ्य मापदण्डहरुको पालना गर्दै भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने छ । सरकारले हरेक वर्ष पहिलो चरणमा वैशाख ६ र ७ गते र दोस्रो चरणमा कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएकोमा यो बर्ष दशैका कारण केही दिन पछि धकेलिएको बताईएको छ ।
विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरूको उपचारमा भिटामिन ‘ए’ को प्रयोग गर्ने गरिन्छ । बालबालीकाहरुलाई भिटामिन ‘ए’ खुवाएमा रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण र छालाको रोग बाट जोगाउन सकिन्छ । सरकारले प्रत्येक ६/६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आईरहेको छ ।