बिद्यालय सञ्चालनको तयारीमा पुर्चौडी नगरपालिका
बैतडी–असोज ६ / बैतडीको पुर्चौंडी नगरपालिका पनी भोलीदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भोली असोज ७ गतेबाट सञ्चालनको तयारी भएको शिक्षा शाखा प्रमुख दिनेश नागरीले रेडियो बैतडीलाई जानकारी दिनुभयो । शिक्षा मन्त्रालयले जारी गरेको शिक्षण सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । नगरपालिकाभरीका सबै सामुदायिक विद्यालयहरुलाई पठनपाठन सुचारु गर्नका लागि परिपत्र समेत गरिसकेको नगरपालिकाले जनाएको छ । पुर्चौडी नगरपालिकाले क्वारेन्टीन तथा आइसोलेसन रहेका विद्यालयहरुमा निसंक्रमिकरण गर्ने र सरसफाई गरिसकेको छ ।
नगरपालिकाभरीका ३९ ओटा विद्यालयमा क्वारेन्टाइन र आइसोलन निर्माण गरिएकाले ती सबै विद्यालयमा निसंक्रमिकरण र सरसफाई गरिएको उहाँले बताउनुभयो । विद्यालयमा बालबालिका पठाउँदा अनिवार्य रुपमा मास्क लगाएर मात्रै बालबालिकाहरुलाई पठाउन अभिभावकहरुलाई आग्रह गरिएको शिक्षा शाखा प्रमुख नागरीले बताउनुभयो । यस्तै विद्यार्थीहरुका लागि घरबाटै तयारी खाजा पठाउन पनि आग्रह गरिएको छ ।