बैतडीमा ट्राफिक जनशक्ति अभाव
जनक साउँद-बैतडी-असोज २८/ बैतडीमा ट्राफिक जनशक्ति अभाव देखिएको छ । जिल्लामा सञ्चालित सवारी साधनको तुलनामा ट्राफिक जनशक्ति अभाव देखिएको हो । स्थानिय तहहरुले सडक सञ्जाल विस्तारलाई तिब्रता दिएर सञ्चालनमा ल्याए पछि अहिले जिल्लामा जनशक्ति अभाव भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी सहायक निरिक्षक राम सिह भण्डारीले जानकारी दिनुभयो । कच्ची सडक सञ्जाल विस्तारसंगै सवारी साधनहरुको चाप पनी बढेकाले ट्राफिक प्रहरीलाई सवारी साधन माथिको निगरानी बढाउन समस्या भएको भण्डारीले बताउनुभयो ।
जिल्ला भरिको ट्राफिक सुरक्षा अहिले ११ जनाले धान्नु पर्ने बाध्यता रहेको छ । बैतडीमा अहिले ११ जना मात्रै ट्राफिक प्रहरी रहेकोमा २ जना खोड्पे, २ जना पाटन, २ जना सतंबाज र ५ जना जिल्ला ट्राफिक प्रहरी कार्यालय शाहीलेकमा रहेका छन् । प्रयाप्त जनशक्ति नहुँदा अहिले खासगरी ग्रामीण सडकहरुमा चल्ने सवारीसाधनहरु माथिको निगरानी बढाउन समस्या भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कच्ची सडकहरुमा यातायात ब्यवसायीहरुले ट्राफिक नियम विपरित यात्रुहरु बोक्ने गरेका छन् । जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । अहिले सवारी साधनहरुको बढी चाप हुने जिल्लाको देहीमाण्डौ, गोकुलेश्वर, खोचलेक र मेलौली लगायतका ठाउँहरुमा ट्राफिक आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख भण्डारीले बताउनुभयो । यस्तै ट्राफिक प्रहरीलाई यातायातका साधनको पनी चरम अभाब रहेको उहाँको भनाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसंग एउटा मात्रै मोटरसाईकल भएकाले कुनै ठाउँमा दुर्घटना भईहालेमा तत्काल घटना स्थल पुग्न समस्या हुने गरेको छ । “कुनै ठाउँमा पुग्न सक्ने अवस्था हुँदैन ,घटना घटेमा प्रहरी या अरु कसैबाट घटनाको विवरण टिपाई माग्नु पर्ने अवस्था छ ।” ट्राफिक प्रमुख भण्डारीले भने ।