भारतमा २४ बर्ष रोजगारी गरेर गाउँमा कपडा उद्योग सञ्चालन, ७ जनालाई रोजगारी
जनक साउँद-बैतडी-असोज १९/ बैतडीको मेलौली नगरपालिका १ मा कपडा उद्योग सञ्चालनमा आएको छ । सोही ठाउँका स्थानिय बिरेन्द्र सिँह नेगीले लामो समय भारतमा रोजगारी गरेर गाउँ फर्किएर अहिले मेलौली बिपिजि होजरी उद्योग नाम दिएर कपडा उद्योग सञ्चालन गरेका हुन् । नेगीले झण्डै २७ लाखको लागतमा सञ्चालन गरेको उक्त होजरी उद्योगमा अहिले ६ जना स्थानियहरुले रोजगारी समेत पाएका छन् । गरिबिका कारण ११ बर्षको उमेरमा रोजगारी खोज्दै भारत पसेका नेगीले २४ बर्षसम्म भारतमा पसिना बगाएको बताए । भारतमा हेपाई खेपेर बस्नु भन्दा स्वाभीमानका साथ आफ्नै गाउँमा केही ब्यसाय गरेर आत्मनिर्भर बन्नु पर्छ र अरुलाई पनी गाउँमै रोजगारी दिन सकिन्छ भन्ने हेतुले झण्डै २७ लाखको लगानीमा कपडा उद्योग सञ्चालन गरको उनले बताए । उक्त उद्योगमा अहिले सबै प्रकार कपडाहरु बन्ने गरेका छन् । बाहिरबाट कच्चा पदार्थ मगाएर कपडा उत्पादन गर्दै आएका सञ्चालक नेगी उद्योग फस्टाउदै गए पनि खुसी छन् । अहिले उक्त होजरी उद्योगमा उत्पादीत कपडाहरुको माग बजारमा बढ्दै गएको छ । बजारको तुलनामा उक्त कपडाहरु सस्तो र बलियो हुने भएकाले पनी बजारमा माग बढ्दै गएको हो । जिल्लाकै बिकट क्षेत्रका रुपमा चिनिएको उक्त गाउँमा होजरी उद्योग सञ्चालनमा आएर आफुहरुले सीप सिकेर रोजगारी समेत पाउँदा खुसी लागेको कामदार राजेश्वरी सुनारले बताईन । “हामी महिलाहरुले बाहिर गएर काम गर्न सक्ने अवस्था छैन, अहिले गाउँमै सीप सिकेर रोजगारी समेत पाउँदा खुसी छु । मासिक १५, २० हजार कमाउदै छु । ”उनले भनिन । उद्योग सञ्चालक नेगीले सरकारी पक्षबाट भने उद्योगमा कुनै अनुदान तथा प्रोत्साहन नपाएको गुनासो गरेका छन् ।