बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिदै
जनक साउँद-बैतडी-असोज ०९/ दशै तिहार लगायतका चाडपर्वहरु नजिकिएसंगै बैतडीमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने भएको छ । चाडपर्वको समयमा बिभिन्न अपराधिक गतिविधिहरु बढ्न सक्ने भन्दै चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
चाडपर्वको समयमा बैतडीका बिभिन्न ठाउँहरुमा मेला समेत लाग्ने भएकाले कुन ठाउँमा कस्तो खालको सुरक्षा ब्यबस्था गर्नु पर्छ त्यसका लागी अध्ययनको काम भईरहेको र अबको केही दिन भित्रै चाडपर्व लक्षित सुरक्षा योजना लागू हुने बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभएको छ । सम्भावित चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सोही अनुसार सुरक्षा योजना बनाउने र प्रहरी परिचालन गर्ने ओझाले बताउनुभयो । गत बिगतका बर्षहरुमा लागु गरिएको चाडपर्व लक्षित सुरक्षाको पनी समिक्षा गर्दै योजना बनाईरहेको उहाँको भनाई छ । “बिगतका बर्षमा लागु गरिएको सुरक्षा योजनाको सकरात्मक पक्षको अनुशरण तथा कमी कमजोरीहरुहरु सच्याउदै योजना बनाउने काम हुँदै छ ।” ओझाले भन्नुभयो ।
यस्तै चाडपर्वको समयमा सवारी दुर्घटना पनी बढी हुने भएकाले ट्राफिक प्रहरीको सक्रियता समेत बढाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटना न्युनीकरणका लागी जिल्लाको खोड्पे, पाटन , सतँबाझ र गोठलापानी लगायतका ठाउँमा ट्राफिक प्रहरीले चेकिङ बढाएको जनाएको छ । यसैबिच नागरिकहरुलाई पनी सम्भावित चोरी डकैती लगायतका घटनाहरुबाट बच्न बिशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय बैतडीले आग्रह गरेको छ ।