बैतडीमा जनगणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा

बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन्। उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन्। सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।

यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ। “सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी छ”, उनले भने। गत भदौ ३० गतेदेखि गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा समस्या भएको पन्तको भनाइ छ।

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ। उनले भने, “सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ”, पन्तले भने। सदरमुकामस्थित दशरथचन्द, पाटन नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको छ। सुपरीवेक्षकका सुरक्षाका लागि प्रहरी टोली खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

 विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेको छ। पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा  मूल गणना गरिने छ। मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ। यसपालिको जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता राष्ट्रिय जनगणना, २०७८’ रहेको छ। रासस

सम्बन्धित

Leave A Reply

Your email address will not be published.