स्व.भागरथीकाे स्मृतिमा बैतडीका दुई विद्यालयमा अक्षयकोष स्थापना
बैतडी भदाै २२ । स्व.भागरथीकाे स्मृतिमा बैतडीका दुइ विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । मंगलबार परेकाे १८ औँ निजामती सेवा दिवसको अवसर पारेर जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानी घर भएकी स्व.भागरथी भट्टको स्मृतिमा उनले अध्ययन गरेका दुईओटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । भागरथीको गत माघ २१ गते बलात्कारपछि निर्मम हत्या भएकाे थियो ।
भागरथीले अध्यन गरेका भूमीराज मावि चडेपानी र सनातन धर्म मावि श्रीकोटमा ६० /६० हजार बराबरको अक्षयकोष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । निजामती कर्मचारीहरुले संकलन गरेको १ लाख २० हजार रकमले दुईओटा विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँँको भनाई छ ।
अक्षयकोषका लागि संकलन भएको रकम स्व. भागरथीका दाइ केशवराज भट्ट मार्फत सम्बन्धित विद्यालयमा पठार्ईएको उहाँले बताउनुभयाे । अक्षयकोषबाट प्राप्त हुने ब्याजले हरेक बर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने बताइएको छ ।