बैतडीः १४ महिनासम्मको तलब नपाएपछि शिक्षक राना परिवारसहित आमरण अनशनमा
बैतडीमा १४ महिनासम्मको तलब नपाएपछि शिक्षक राना परिवारसहित आमरण अनशनमा बसेका छन्। जिल्लाको शिवनाथ गाउँपालिका- ६ हिरापुरस्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक करन रानाको परिवार आइतबारदेखि जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडि अनशन बसेका हुन् । शिक्षक राना ६ वर्षअघि गाउँबाट बिस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् ।
तर उनले गत १४ महिना सम्मको तलब पाएका छैनन्।रानाले जिल्ला शिक्षा समितबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको विद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरेका थिए। २ वर्षअघि नै प्रक्रिया पुरा गरेपनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन।
करन रानाको पदस्थापनका लागि जिल्ला शिक्षा समितिले पटक-पटक आश्वासन दिएपनि माग पुरा नगरेकाले राना श्रीमति र ४ छोराछोरी सहित आइतबारदेखि अनशनमा बसेका हुन् । उनको माग सम्बोधन गर्नका लागि पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।