सुदुरपश्चिममा गौरा पर्व शुरु, आज पहिलो दिन बिरुडा पञ्चमी

बैतडी-भाद्र ११/ सुदुरपश्चिमेलीहरुको महान पर्व गौरा शुक्रवारदेखि बिधिवत रुपमा शुरु भएको छ । बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ लगायत सुदुरपश्चिमका जिल्लाहरुमा प्रत्येक बर्ष गौरा पर्न मनाउने गरिन्छ । गौराको पहिलो दिन आज बिरुडा पञ्चमी, महिलाहरुले बिहानै स्नान गरी “बिरुडा” भिजाएका छन् । गहत, गुरुँस, मास, गहुँ र केराउ गरी पञ्च अन्नको मिश्रणलाई “बिरुडा” भन्ने गरिन्छ । बिरुडा पञ्चमीको दिन घरको पवित्र कोठामा गाईको गोबरले लिपपोत गरेर तामा तथा पितलको भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई “बिरुडा” भिजाउने चलन रहेको छ । अधिकासं ठाउँमा घरघरमा बिरुडा भिजाउने चलन रहेको छ भने कतिपय ठाउँमा संयुक्त रुपमा ईष्टकुल देवताको पवित्र घर मानिने “भण्डारी घर”मा बिरुडा भिजाउने चलन रहेको छ ।

     आज पञ्चमीका दिन भिजाएको बिरुडालाई भोली षष्ठीका दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका धारा तथा नौला (कुवा) मा लगेर धुने प्रचलन रहेको छ । षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाउने गरिन्छ जसलाई गौरा भनिन्छ । सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत विद्यमान रहेको छ । सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।

     गौरा पर्वको महत्वपूणर् दिन अष्ठमीमा महिलाले बिहानै खोला तथा तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर महिलाले नाच्ने गर्दछन् । अठेबालीका दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेबाली भन्ने गरिएको हो ।अठेवाली गीत गाउदा महिलाहरुले एकले अर्काको कान्छी औंला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् । यसै अवसरमा पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देबीको पूजाआजा गर्न प्रयोग हुन्छ । भने सोही दिन महिलाहरुले आफ्ना परिवारका सदस्यहरु र आफन्तलाई आर्शिवाद दिँदै बिरुडाले पुजि दिने प्रचलन रहेको छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । अठेबालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुसी बनाउन अठेबालीका दिन पुरुषले विशेषगरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।

     महिलाहरुले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ । अठेबालीका दिन पुरुषहरुले आफ्नो जनै समेत फेर्न गर्छन् भने व्रतबसेका महिलाहरुले नयाँ दुबो धागो लगाउने गर्छन् । बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खे खेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् । गौराको अन्तिम बाजागाजासहित विर्सजन गरिन्छ । यसै अवसरमा सरकारले गौरा पर्वको विदा दिने गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.