बैतडीको समग्र विकासका लागी काङग्रेस नेताहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
जनक साउँद-बैतडी-भाद्र ०५/ बैतडी जिल्लाको समग्र विकासका लागी गम्भीर बन्न प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाली काङग्रेसका नेताहरुले ज्ञापनपत्र बुझाएका छन् । केही दिनदेखि संघिय राजधानी काठमाण्डौमा रहेका नेपाली काङग्रेस बैतडीका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभएको छ । नेपाली काङग्रेस महासमिति सदस्य उत्तर बहादुर ऐर, केशब बहादुर चन्द, हरि मोहन भण्डारी, नेपाली काङग्रेसका नेता रमेश कोली,सिगास गाउँपालिकाका अध्यक्ष हरि सिह धामी लगायतका नेताहरुले बैतडी जिल्लाको समग्र बिकासका बिषय सुची समेटेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको केसीले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका नेपाली काङग्रेसका भातृ संगठनका नेताहरुको पनी सहभागीता रहेको थियो । विकास पुर्बाधारहरुको अभावमा जिल्लाबाट बसाई सर्ने क्रम बढी रहेको कुरा ज्ञापन पत्रमा उल्लेख गर्दै मानव संसाधनको विकास र बसोबासका लागी आवश्यक पुर्बाधारहरुको बिकासमा जोड दिन आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा पश्चिम सेती जल विद्युत आयोजनालाई तामाकोसी मोडेलमा संचालन गर्नु पर्ने, महाकाली करिडोरका लागी विश्व बैंक लगायतका दातृ निकायको सहयोगमा पुँजी ब्यबस्थापन गर्नुपर्ने, मध्य पहाडी लोकमार्ग अन्र्तगत डडेल्धुरा सदमुकाम हुँदै झुलाघाटसम्म डबल लेनको सडक निर्माणका लागी तत्काल टेण्डर प्रकृया अगाडी बढाउनु पर्ने, बैतडी जिल्लाका सबै वस्तीहरुमा बिद्युतीकरण र सुविधायुक्त टेलीफोन सेवाको उपलब्धता गर्नु पर्ने, बैतडीको सदरमुकाम स्थित जिल्ला अस्पताललाई २ सय शैय्याको ब्यबस्था सहित आधुनिक स्वास्थ्य उपकरणहरुको ब्यबस्था गरिनुका साथै दक्ष जनशक्तिको उत्पादन सोही अस्पताल मार्फत गरिनु पर्ने र दशरथचन्द नगरपालिका २ देहीमाण्डौमा, डिलाशैनीको गोकुलेश्वरमा, शिवनाथ गाउँपालिकाको सुल्लेखानमा, दोगडाकेदार गाउँपालिकाको सिल्लेगडामा र सिगास गाउँपालिकाको गाँजरीमा आखा अस्पताल सञ्चालन गर्नु पर्ने मागहरु अघि सारिएको बैतडीका पुर्व जिबिस सभापती एबंम नेपाली काङग्रेस महासमिति सदस्य उत्तर बहादुर ऐरले बताउनुभएको छ ।
यस्तै पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पेमा, पुर्चौडी नगरपालिका वडा नम्बर १, पञ्चेश्वर गाउँपालिकाको केन्द्रमा दातँ अस्पताल सञ्चालन गर्नु पर्ने, सदरमुकाम बोहकका अन्य ३ नगरपालिकामा ५० शैय्याको अस्पताल निर्माण, प्रत्येक गाउँपालिकामा २५ शैय्याको अस्पताल निर्माण र प्रयाप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको ब्यबस्थापन, सास्ंकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारका लागी सांस्कृतिक संग्रहालयको स्थापना गर्न प्रधानमन्त्री देउवाको ध्यानार्कषण गरिएको ऐरको भनाई छ । यस्तै झुलाघाटमा मोटरेबल पुल निर्माण, जिल्ला स्तरमा सञ्चालनमा रहेका सडकहरुको स्तरोन्नती, पाटन नमुना सहर निर्माण कार्य तिब्र रुपमा अगाडी बढाउनु पर्ने र बैतडी र दार्चुलाको सीमावर्ती क्षेत्र गोकुलेश्वरमा मेडिकल कलेज स्थापना लगायतका कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।