बिकासको मुल आधार पर्यटनः मन्त्री भट्ट
बैतडी–असोज ४ / सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले बिकासको मुल आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ । प्रेस संगठन नेपाल बैतडी शाखाले आईतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो । मन्त्री भट्टले सुदूरपश्चिम धार्मिक तथा सांस्कृतिक हिसाबले सम्पन्न रहेको भन्दै प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताउनुभयो । प्रदेशमा ऐतिहासिक महत्व बोकेका थुप्रै सम्पदा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता सम्पदाहरुको संरक्षणका लागि आँफू प्रतिबद्ध रहेका बताउँनुभयो ।
बैतडीमा रहेका प्रसिद्ध धार्मिक स्थल त्रिपूरा सुन्दरी , निगँलाशैनी भगवती मन्दिर र पाताल भुमेश्वर गुफाको उचित संरक्षण र पुर्बाधार बिकासका लागि आफ्नो मन्त्रालयबाट बैतडीका लागि सबैभन्दा बढी बजेट बिनियोजन भएको उहाले जानकारी दिनुभयो। मन्त्री भट्टले प्रसारप्रचार गरि पर्यटन क्षेत्रको बिकासको लागि सञ्चार जगतको महत्वपूर्ण भुमिका रहने भन्दै ओझेलमा परेका धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको खोजी गरि प्रसार प्रचार गर्न आग्रह गर्नुभयो । अहिले स्थानीय तहहरुले भौतिक बिकासलाई मात्रै प्राथमिकता दिई रहेको भन्दै पर्यटन क्षेत्रको बिकासको लागि पनी स्थानीय सरकारले पनि चासो दिनु पर्ने आबश्यकता मन्त्री भट्टले औँल्याउनु भयो ।
नागरिकका गुनासा र समस्या सुन्ने मात्रै कि कार्यान्वयन पनि हुन्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री भट्टले आफुले जे बोल्यो त्यो पुरा गरेरै छोडने दाबी गर्नुभयो । अहिलेसम्म आफुले बोलेका कुराहरु पूरा गर्दै आएको र अगामी दिनमा पनि सबैको साथ सहयोगको अपेक्षा गरेको उनको भनाई छ ।