बैतडीमा ‘तपाँइको मास्क खोई?’अभियान सञ्चालन
बैतडी साउन २७ । बैतडीमा पनि तपाँइको मास्क खोई? अभियान सञ्चालन गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीको आयोजना, जनस्वास्थ्य कार्यालय बैतडी, रेडक्रस सोसाइटी बैतडी लगायतका संस्थाहरुको सहयोग तथा समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरी कोरोना माहामारी नियन्त्रण गर्ने उदेश्यले तपाँइको मास्क खोइ? अभियान सञ्चालन गरेको हो ।
कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सञ्चालनमा ल्याएको नेपाल मास्क अभियानमा ऐक्यवद्धता जनाउँदै बैतडीमा पनि तपाँइको मास्क खोई ?अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोध राज ओझाले जानकारी दिनुभयो ।
कार्यक्रममा मास्क वितरण गर्ने मास्क नलगाएर आवतजावत गरिरहेकाहरुलाई सम्झाइ बुझाइ गर्ने काम भइरहेको उहाँले बताउनुभयो । मंगलबारबाट तपाँईको मास्क खोई अभियान सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विज्ञहरुले कोरोनाको तेस्रो लहरको चेतावनी दिइरहेका बेला नेपाल सरकारले जीवन रक्षाका लागि आम नागरिकहरुलाई मास्क लगाउन प्रेरित गर्ने हेतुले नेपालभरी साता व्यापी मास्कक अभियान सञ्चालन गरेको छ । सोही कार्यक्रम अनुसार अहिले बैतडीमा पनि यो अभियान मार्फत नागरिकहरुलाइ सचेत पारिदै छ ।
गाउँ देखि सहरबजार सम्म अहिले मास्क अभियान सञ्चालनमा छ । जिल्ला प्रत्येक बजारहरुमा प्रहरी लगायतका विभिन्न संघ संस्थाहरुले मास्क अभियान सञ्चालन गरेका छन् भने गाउँ घरमा स्थानीयतहका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु अभियान मार्फत मास्कको महत्व, फाइदा बताउँदै सचेतना फैलाउदै छन् ।