बैतडीका १७ हजार २९९ जनाले लगाए भेरोसेल खोपको पहिलो डोज

बैतडी साउन २३ । बैतडीका १७ हजार २९९ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार साउन १७ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन्।

१८ हजार डोज भेरोसेल खोप प्राप्त भएकोमा १७ हजार २९९ जनाले उक्त खोप लगाएका हुन्। खोप लगाउनेमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका छन्। त्यहाँ ३ हजार १५०, दशरथचन्द नगरपालिकामा २ हजार ३९४, पाटन नगरपालिकामा २ हजार ३१८, दोगडाकेदार गाउँपालिकामा १ हजार ७८६ र डिलाशैनी गाउँपालिकामा १ हजार ६६४ जनाले खोप लगाएका छन्।

यस्तै‚ सिगास गाउँपालिकामा १ हजार ५३४, मेलौली नगरपालिकामा १ हजार ३६४ र सुर्नया गाउँपालिकामा १ हजार २६१ जनाले खोप लगाएको कार्यालय प्रमुख भट्टले जनाकारी दिए। खोप ५५ देखि ६० वर्ष उमेर समूहका नागरिक, शिक्षक र कर्मचारी, कलेजका प्राध्यापक र कर्मचारी, सवारी साधनका चालक र सहचालक र योभन्दा पहिलाको खोप अभियानमा छुटेका लक्षित समूहका व्यक्तिहरुलाई लगाइएको हो।

पहिलो मात्रा लगाएकालाई २८ दिनभित्र दोस्रो डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ। बैतडीमा ९६ खोप केन्द्रमार्फत अभियान सञ्चालन भएको थियो। यसैबीच शनिबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। शनिबार र आइतबार जिल्लाभरी खोप दिइने भट्टले बताउनुभयाे ।

५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, अशक्त र अपांगता भएका व्यक्तिलाई यो खोप लगाइँदैछ। जोन्सन खोपको ११ हजार ५०० डोज प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ। जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्रै दिने गरिन्छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.