बैतडीको दोगडाकेदारले सडक मर्मत स्वयम सेवक राख्दै, ४० जनाले पाउने भए रोजगारी
जनक साउँद-बैतडी-श्रावन ११/ बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक मर्मत स्वयम सेवक राख्ने भएको छ । गाउँपालिका भित्रका सडकहरुको सरसफाई, मर्मत, सम्भार तथा रेखदेखका लागी गाउँपालिकाले ४० जना सडक मर्मत स्वयम सेवक राख्ने भएको हो ।
गाउँपालिकाले उक्त पदका लागी यस अघि बिज्ञापन खोलेकोमा गाउँपालिकाका ८ वटै वडाहरुबाट ४० जनाको अन्तिम नामावली प्रकाशन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले जानकारी दिनुभएको छ ।
अन्तिम नामावलीमा नाम प्रकाशन भएकाहरु र गाउँपालिकाबिच करार सम्झौता भई उनीहरुलाई काममा लगाईने उहाँको भनाई छ । सम्झौता गर्दा कुन सडकखण्डमा कति जना परिचालन गर्ने भन्ने टुंगो लगाईने समेत धामीले बताउनुभयो । सडक मर्मत स्वयम सेवकमा नियुक्त गरिएकाहरुलाई गाउँपालिकाले न्युनतम तोकिएको १३ हजार ५ सयमा नघट्ने गरी पारिश्रमिक दिने गाउँपालिकाले जनाएको छ ।
दोगडाकेदार गाउँपालिकाले जिल्लामै पहिलो चोटि आफ्नै लगानीमा सडक मर्मत स्वयम सेवक राख्न लागेको हो । गाउँपालिकाको यो कार्यले गाउँपालिका भित्र रोजगारी समेत सिर्जना हुने भए पछि गाउँपालिकाबासीले प्रंससा गरेका छन् ।