प्रधानमन्त्री रोजगार कार्यक्रममा भ्रष्टाचार भएको भन्दै पाटन ४ का स्थानीय आन्दोलित
बैतडी साउन १०/ बैतडीको पाटन नगरपालिका वडा नं ४ मा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक भ्रष्टाचार भएको भन्दै आइतबार स्थानीय नागरिकहरुले प्रदर्शन सहित वडा कार्यालयमा धर्ना दिएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाटन ४ को डोडर खोला देखी नयाँ भुमेश्वर स्वास्थ्य चौकी , मुङरौ धारा देखी सिउडे जोड्ने बाटो निर्माण गरेका स्थानीयहरुले आफुहरुको बढी हाजिर देखाएर कम रकम दिएको आरोप लगाएका छन् ।
बाटो निर्माण समितिले आफुहरुको हाजिर बढी देखाएर रकम झ्वाम पारेको स्थानीय पूणर्देव भट्टको आरोप छ । रकम कहाँ गयो, अनियमिता गर्न पाइदैन ,बजेट झ्वाम पार्नेलाई कार्वाही हुनु पर्ने उनिहरुको माग छ । ५ दिन काम गरेका कामदारको २१ दिन हाजिर देखाएर रकम निकासा भएको र कामदारलाई पारिश्रामिक पनि कम दिएको उहाँले बताउनुभयो । एक जना कामदारले करिब १६ हजार ८ सय ८६ रकम पाउनु पर्ने भए पनि १२ हजार ६ सय मात्रै पाएका कामदारहरुको भनाई छ । करिब ४ लाख जति रकम किर्ते हाजिर गरेर झ्वाम पार्दा सम्म सम्बन्धीत निकाय मौन बसेपछि आफहुरुले नारा बाजी सहित वडा कार्यालयमा धर्ना दिएका स्थानीय रमेश बहादुर चन्दले बताउनुभयो ।
आइतबार वडा कार्यालयमा छलफलका लागि जनप्रतिनिधि र बाटो निर्माण समितिका पदाधिकारीहरुलाई बोलाएका भएपनि फोन अफ गरेर गायब भएका आन्दोलित कामदारहरुको भनाई छ । यस्तै बाटो निर्माण समितिका अध्यक्ष गौरी दत्त भट्टले २० हजार लिएको स्वीकार गर्दै , बाँकी रकम नगरपालिकाका ओभरसियर सम्राट चन्दले लिएको बताएका छन् । यता वडा अध्यक्ष दिपक विष्टले आफु गायब नभएको स्पष्ट पार्दै आफुलाई वडा कार्यालयमा आउने जानकारी पाटन नगरपालिकामा पुगि सकेपछि मात्रै आएको बताउनुभयो ।
स्थानीयहरुको माग जायज भएको भन्दै उहाँले उनिहरु सँग बसेर छलफल गरिने बताउनुभयो । रकम कहाँ गयो, अनियमितता गर्न पाइदैन ,बजेट झ्वाम पार्नेलाई कार्वाही हुनुपर्ने उनिहरुको माग सहि भएको भन्दै वडा अध्यक्ष विष्टले रकमका बारेमा सम्बन्धीत व्यक्तीहरु संग अहिले पनि नगरपालिकामा बसेर छलफल भइरहेको बताउनुभयो ।