बैतडी : गत बर्ष ५ हजार बढीले नागरिकता लिए, ६ जनाद्वारा परित्याग
जनक साउँद-बैतडी-श्रावन ०४/ जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत आर्थिक बर्षमा ५ हजार बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक बर्ष २०७७/०७८ मा ३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिला गरी ५ हजार ५ सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभएको छ । कोरोना महामारीका कारण बिभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकहरुले नयाँ नागरिकता लिएका उहाँको भनाई छ । गत आर्थिक बर्षको कार्तिक महिनामा सबैभन्दा बढी र भाद्र महिनामा सबैभन्दा कम नागरिकताको प्रमाणपत्र बितरण गरिएको सुचना अधिकारी भारतीले बताउनुभयो ।
यस्तै ४ जनाले बैबाहित अंगिकृत नागरिकताको प्रमाणपत्र लिएका छन् भने १ हजार ८ सय १८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा १ हजार ३ सय ७६ जना पुरुष छन् भने ४ सय ४२ जना महिला रहेका छन् । यस्तै ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका हुन् ।
यसैबिच नागरिकता सम्बन्धि ४ सय ८० वटा गुनासोहरु आएकोमा ३ सय ५३ वटा फच्र्यौट भएका र १० वटा प्रकृयामा रहेका छन् । नागरिकता सम्बन्धित आएका १७ वटा गुनासाहरु भने खारेज भएका जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।