बैतडीमा सडक दुर्घटनामा परी ३४ जनाको मृत्यु ,७८ जना घाईते
जनक साउँद-बैतडी-श्रावन ०३/ बैतडीमा गत आर्थिक बर्षमा सडक दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गत आर्थिक बर्ष २०७७/०७८ मा दुई पांग्रे तथा चार पांग्रे सवारी साधन दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा २८ जना पुरुष, ५ जना महिला र १ बालक रहेका छन् । यस्तै सडक दुर्घटनामा परी ७८ जना घाईते भएका छन् । घाईते हुनेहरुमा ६३ जना पुरुष र १५ जना महिला रहेका छन् ।
गत आर्थिक बर्ष भरि जिल्लामा १६ वटा सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक, प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभएको छ । सबैभन्दा बढी ६ वटा जीप दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने ४० जना घाईते भएका छन् । यस्तै ५ वटा ट्याक्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
एउटा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएकोमा ३४ जना घाईते भएका छन् । यसैगरी एउटा स्काईभेटर दुर्घटना हुँदा १ जना, एउटा टिप्पर दुर्घटना हुँदा १ जना र एउटा मोटर साईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।