बैतडी : संकटमा राना परिवार, जीवन रक्षाको माग गर्दै ज्ञापन पत्र
जनक साउँद-बैतडी-असार ३१/ बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ कानली निवासी करन राना २०७२ सालमा गाउँलेहरुले बिभिन्न आरोप लगाएर घरमा आगो लगाई दिए पछि बिस्थापित भएका थिए । घरमा आगोे लगाए पछि बिचल्लीमा परेको स-परिवार सहित उनी हारगुहार माग्दै जिल्ला सदरमुकाम पुगेका थिए । पेशाले उनी शिक्षक हुन् भने उनी श्रीमति राजु राना पनी शिक्षण पेशामै आबद्ध छिन् । गाउँकै बिद्यालयमा अध्यापन गराउने राना गाउँबाट बिस्थापित भए पछि जिल्ला सदरमुकाम आएर फेरि गाउँ फर्किने अवस्था नरहे पछि उनको मार्कालाई मध्यनजर गर्दै २ बर्ष पछि २०७४ सालमा जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायहरुले उनलाई जिल्ला सदरमुकाममै रहेको ईश्वर आधारभुत विद्यालय डोबरामा निमाबि तहको राहत कोटामा र उहाँकी श्रीमतीलाई जगन्नाथ आधारभुत विद्यालय बैतडीमा शिशु कोटामा काज मिलाई दिएको थियो ।
उति बेला रानाले सोचेका थिए घर जलेर ध्वस्त भए पनि आफ्ना भन्नेहरु कोही नरहे पछि कानुन र न्याय त छ मेरो लागी । त्यस पछि श्रीमान श्रीमति दुबै जना शिक्षण पेशा गरेर ६ जनाको परिवार सदरमुकाममै पाल्दै आएका थिए । उनको दैनिकी सामान्य बनीसकेको थियो । तर फेरी २ बर्ष यता उनको जीवनमा संकट दोहोरिएको छ । बिंस. २०७६ सालमा रानाले काम गर्दै आएको ईश्वर आधारभुत विद्यालय डोबराले उनको कामको मुल्यांकन गर्दै विद्यालयको निमावि तहमा रिक्त रहेको दरबन्दीमा विद्यालय ब्यबस्थापन समितिले पदस्थापन गर्ने निणर्य गरेको थियो । पदस्थापनका लागी सबै प्रकृया पुरा गरेको २० महिना पुग्नै लाग्दा पनी पदस्थापदन नभएको रानाको गुनासो छ । शिक्षा विकास तथा समन्वय ईकाईले आज आज भोली भोली बन्दै आश्वासन मात्रै दिने गरेको र माग सम्बोधन नभएको उनको भनाई छ । उनको पदस्थापन नहुँदा उनले १३ महिनादेखि तलब समेत पाएका छैनन् ।
यस्तै उनकी श्रीमती राजु राना कार्यरत जगन्नाथ आधारभुत विद्यालय नौहाटले पटक पटक काज फिर्ताको कुरा गर्ने गरेकाले श्रीमति पनी मानसिक तनावमा रहेकी रानाले बताउनुभयो । श्रीमतीको सोही विद्यालयमा काम पदस्थापन गर्न पनी उनले माग गरेका छन् । कोरोना महामारीका कारण अन्य आर्थिक गतिबिधि गर्न पनी नसकिएको अवस्थामा विद्यालयबाट १३ महिनासम्मको तलब समेत नपाउँदा अहिले राना परिवार जीवन र मरणको दोसादमा रहेको छ । कहीँ कतैबाट समस्या समाधान नहुँने भए पछि राना दम्पतीले बिहिबार जिल्ला समन्वय समितिलाई आफुहरुको समस्या समाधानका लागी ज्ञापन पत्र बुझाएका छन् । आफुहरुको माग सम्बोधन नभए साउन १ गतेदेखि अनसन थाल्ने पनि उनीहरुले चेतवानी दिएका छन् । अहिले परिवार पाल्नै समस्या भएकाले आफ्नो परिवारको जीवन रक्षा गरी दिन जिल्ला स्थित सरोकारवाला निकायलाई ज्ञापन पत्र मार्फत अपिल गरिएको छ ।