प्रधानाध्यापक साउँदको रचनात्मक कामले विद्यालयले काचुँली फेर्दै
जनक साउँद -बैतडी-असार २८/ बैतडीको पाटन नगरपालिका वडा नम्बर ७ उपल्ला बाटुला स्थित जयपुर आधारभुत विद्यालयले काचुँली फेर्दै गएको छ । दयनिय अवस्था रहेको उक्त विद्यालयको समग्र अवस्था सुधारका लागी अहिले आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । विद्यालयको भौतिक अवस्था निकै कमजोर रहेकोले आवश्यक शैक्षिक समाग्रीहरु खरिदका लागी अभियान सञ्चालन गरिएको हो । बि.स.२०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा राज्य पक्षबाट आवश्यक सहयोग नहुँदा पछाडी परेको छ ।
विद्यालयमा दराज, कुर्सी, टेबल र स्टेशनरी समाग्रीहरुको टड्कारो समस्या रहेकाले आर्थिक संकलन अभियान सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र साउँदले जानकारी दिनुभएको छ । सरकारको नजर नपरेको उक्त बिद्यालयमा चन्दा संकलन गरेरै भए पनि भौतिक अवस्था सुधार गर्ने योजना बिद्यालयको रहेको साउँदले बताए । “विद्यालयका आवश्यक कागजातहरु जोगाउन समेत समस्या भए पछि दराज खरिदका लागी मात्रै अभियान चलाउने सोचेका थियौ, अहिले बिभिन्न मनकारी ब्यक्तिहरुले समर्थन जनाउँदै सहयोग गर्न थाले पछि उक्त अभियानबाट समग्र भौतिक अवस्था उकास्ने योजना छ । प्रधानाध्यापक साउँदले भने ।”
एक साता अगाडीदेखि अभियानको थालनी गरिएकोमा अहिलेसम्म १ लाख १२ हजार संकलन भईसकेको विद्यालयले जनाएको छ । सोही विद्यालयमा अक्षर आरम्भ गरी अहिले नेपालमै बिभिन्न पेशामा आबद्ध तथा प्रवासमा रहेका युवाहरुबाट सहयोग उठ्ने क्रम जारी रहेको छ । विद्यालयको अवस्था सुधारका लागी सहयोग गर्न चाहनेहरुले प्रत्यक्ष रुपमा र विद्यालयको कृषि विकास बैंकमा रहेको खाता नम्बर ०८२३९००८७४७१००१२ मा सहयोग रकम जम्मा गर्न सकिने छ । लामो समयदेखि शैक्षिक पेशामा आबद्ध सोही ठाउँका स्थानिय समेत रहेका उक्त विद्यालयका प्रधानाध्यापक साउँद केही समय अगाडी मात्र डडेल्धुराबाट सरुवा भएर आएका थिए ।
असल समाज बनाउँन असल विद्यालय चाहिन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै जयपुर आधारभुत विद्यालयको भौतिक तथा शैक्षिक अवस्थालाई सुधार गर्दै नमुना विद्यालय बनाउनका लागी प्रअ साउँद लागी परेका छन् । आर्थिक संकलन अभियान शुरुवात मात्रै भएको भन्दै विद्यालयलाई नमुना बनाउनका लागी सबैले हातेमालो गनुपर्ने पर्ने र सरकारी पक्षबाट बिशेष पहल हुनुपर्ने धारणा उनको छ । साउँदले प्रधानाध्यापकको जिम्मेवारी समाले यता विद्यालयको अवस्था सुधार हुँदै गए पछि अभिभावक खुसी भएका छन् । उक्त विद्यालय छाडेर अन्यन्त्र गएका विद्यार्थीहरु पनी अहिले फर्केर आउन थालेका छन् ।
विद्यालयको आर्थिक, भौतिक, शैक्षिक र समाजिक अवस्था सुधारका लागी विद्यालयले थालेको उक्त अभियान प्रंससनिय र अनुकरणीय रहेको सामुदायीक विद्यालय ब्यबस्थापन समिति महासंघ नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रेम सिह भाटले बताउनुभयो । विद्यालयको दयनिय अवस्था सुधारका लागी तिनै तहका सरकारले ध्यान नदिनु राज्य पक्षको गैर जिम्मेवारीपन भएको भाटको भनाई छ । विद्यालयको समग्र विकासका लागी रचनात्मक काम गर्न पहल गर्ने र सहयोगी गरी बालबालिकाहरुको पठनपाठनमा टेवा पुर्याउने समुदाय र ब्यक्तिलाई सम्बन्धित निकायबाट प्रोत्साहन गरिनु आवश्यक देखिन्छ ।