कोरोना संक्रमित बढ्दै गएपछि बैतडीको चडेपानी गाउँ ‘सिल’
बैतडी असार २१ ।कोरोना संक्रमित बढ्दै गएपछि बैतडीको चडेपानी गाउँ सिल गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि सिल गरिएको हो ।
गाउँका १९ जनामा संक्रमण पुष्टि भएपछि चडेपानीलाई एक हप्ताका लागि सिल गरिएको बताइएको छ । सोमबार गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले चडेपानी गाउँलाई सिल गर्ने निर्णय गरेको हो। संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मको लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामीले जानकारी दिनुभयो ।
विपद व्यवस्थापन समितिको बैठकले चडेपानी गाउँलाई असार २७ गते सम्म सिल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो सिल भएको अवधिमा उक्त गाउँमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार दोगडाकेदार गाउँपालिकामा २३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या ८९ रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा १८ जना, दशरथचन्द नगरपालिकामा ११ जना, दोगडाकेदार गाउँपालिकामा २३ जना, डिलाशैनी गाउँपालिकामा ९ जना र सुर्नया गाउँपालिकामा ९ जना रहेका छन् ।
यस्तै मेलौली नगरपालिकामा ६ जना, शिवनाथ गाउँपालिकामा ५ जना, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका ५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।